ओखलढुङ्गा, चैत्र ४, २०८२
ओखलढुङ्गा क्याम्पस, ओखलढुङ्गाको आयोजनामा ओखलढुङ्गा जिल्लाको सदरमुकामस्थित सिद्धिचरण नगरपालिका–१२, गणेशटोलमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
क्याम्पसले विगतदेखि नै समुदायसँगको सम्बन्धलाई सुदृढ बनाउँदै आएको सन्दर्भमा यसपटक पनि “आउटरिच कार्यक्रम” अन्तर्गत उक्त शिविर आयोजना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य समुदायसँग क्याम्पसको सम्बन्ध विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु रहेको छ।
उक्त शिविरबाट कुल १२२ जना सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा सहभागी सेवाग्राहीहरूलाई निःशुल्क दन्त परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको छ।
क्याम्पसले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जनहितमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमअन्तर्गत यसपटक दन्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।



